काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक 'आइजिपी' दीपक थापाले पहुँचको नभई पद्धतिको थिति बसाल्ने प्रयत्न गर्ने बताएका छन् ।
आज बिहान दर्ज्यानी चिन्ह ग्रहण गरेपछि बोल्दै महानिरीक्षक थापाले आफूले पहुँचको नभई पद्धतिको थिति बसाल्न प्रयत्न गर्ने र अपराधको रोकथाम र अनुसन्धान कुनै पनि बहाना र विकल्प बिना अघि बढाउने प्रतिबद्धता जनाए ।
देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा अमन चयन र कानुनी राज्यको प्रत्याभूति दिलाउन आफूले पहल गर्ने बताउँदै नेपालको संविधानको मर्म अनरुप संघीय स्वरुपमार्फत कानून कार्यान्वय गर्न, विधिको शासन, मानव अधिकारको प्रत्याभूति, आर्थिक, सामाजिक रुपान्तरणद्वारा सुशासन, सामाजिक न्याय र सद्भावको सुनिश्चितता गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबालका साथ कर्तव्य निष्ठ रहेको र रहिरने उनले बताए ।
सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्ति गरेको थियो । नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१ औँ आइजिपी बनेका हुन् । २०५२ भदौ १९ गते नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर)दर्जाबाट प्रहरी जीवन सुरु गरेका थापा भक्तपुर जिल्लाका बासिन्दा हुन् । थापा २०२८ साल मंसिर ८ गते भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ सिपाडोलमा जन्मिएका हुन् । उनले कानूनमा एलएलबी, राजनीतिशास्त्रमा स्नातकोत्तर, जनप्रशासनमा एमपीएको अध्ययन गरेका छन् ।
डीएसपी र एसपी दर्जामा उनले जिल्ला प्रहरी कार्यालय रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवनको प्रहरी प्रमुखका रुपमा जिम्मेवारी बहन गरिसकेका छन् । बागमती प्रदेश प्रहरी, उपत्यका प्रहरी कार्यालयको जिम्मवारी सम्हालिसकेका उनले प्रहरी वृत्त महाराजगञ्ज काठमाडौंको कार्यालय प्रमुखको अनुभव समेत हासिल गरिसकेका छन् ।