काठमाडौँ । काठमाडौँको झोरबाट बरामद गरिएको करोडौँ नेपाली र विदेशी रकम सार्वजनिक प्रहरीले सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गर्दै नेपाली र विदेशी गरी कुल २५ करोड १ लाख ६० हजार रुपैयाँ बरामद गरिएको जानकारी दिएको हो ।
गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखा नगरपालिका–१ झोरबाट चीनको केरुङ जाने तयारीमा रहेको ना१ख १६५२ नम्बरको ट्रक नियन्त्रणमा लिएका थियो ।
विशेष सुराकीको आधारमा उक्त रकम बोकेको ट्रक समात्न सफल भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए। उक्त ट्रकमा नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोल गरि २५ करोड बढी नगद भेटिएको हो ।
प्रहरीले ट्रक चालक सिन्धुपाल्चोकका ३९ वर्षीय कुसाङ लामालाई नियन्त्रणमा लिएको छ । चालकले आफू भरिया मात्र भएको बयान प्रहरीसमक्ष दिएका छन् । प्रहरीले थप अनुसन्धानका लागि उनलाई राजस्व अनुसन्धान विभाग पठाइने जनाएको छ।