जनकपुरधाम । मधेश प्रदेश सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)बाट अलग भएको घोषणा गरेको छ । परीक्षाको केन्द्राध्यक्ष गोला प्रथाबाट नियुक्त नगरेपछि प्रदेश सरकार परीक्षा प्रक्रियामा सहभागी नहुने मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार पत्रकार सम्मेलन गरी घोषणा गरेका हुन् ।
परीक्षालाई मर्यादित, पारदर्शी तथा निष्पक्ष बनाउन केन्द्राध्यक्ष गोला प्रथाबाट नियुक्त हुनुपर्ने उनको माग थियो । परीक्षामा हुने अनियमितता रोक्न प्रदेश सरकारले परीक्षा केन्द्राध्यक्ष नियुक्ति तथा परीक्षा सञ्चालन प्रक्रियामा कडाइ गर्न खोजेपछि परीक्षा बोर्ड र जिल्ला शिक्षा समन्वय इकाइ कार्यालयहरूले सहयोग नगरेको उनको गुनासो छ ।
विगतजस्तै सम्बन्धित विद्यालयका प्रअलाई केन्द्राध्यक्ष तोक्ने निर्णय गरेपछि प्रदेश सरकार परीक्षा प्रक्रियाबाट अलग भएको हो ।