काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय गरेको छ । मंगलबार धुम्बाराहीमा बसेको राप्रपा कार्यसम्पादन समिति बैठकले सो निर्णय गरेको हो ।
राजसंस्था पुनःस्थापनाको मूल लक्ष्यसहित ८६ वर्षीय नवराज सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति सोमबार गठन भएको थियो । उक्त समितिमा अध्यक्ष लिङ्देनलाई पनि सदस्य राखिएको थियो ।
वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सदस्य सचिव थिए । लिङ्देनले यो समितिमा आफू सदस्य नबस्ने बताएका थिए । उनले राप्रपाले पूर्वनिर्धारित आन्दोलनलाई निरन्तरता दिने बताए ।
