काठमाडौं । मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को नतिजा आउने क्रम जारी रहेको छ । पछिल्लो परिणाम अनुसार कांग्रेस निकट नेपाल विद्यार्थी संघ ९९ क्याम्पसमा जित दर्ता गर्न सफल भएको छ । यीमध्ये केहीमा सर्वसम्मत र केहीमा निर्वाचनको माध्यमबाट सभापति चुनिएका हुन् ।
यस्तै अहिलेसम्म प्राप्त परिणाम अनुसार अनेरास्ववियुले ८६ क्याम्पसमा जित दर्ता गरेको छ ।
उता सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा पुन: रंजित यादव बाजी मारेका छन् ।
यस्तै काठमाडौं उपत्यकाका पाँच क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् ।जनप्रशासन क्याम्पस बल्खु, बानेश्वर क्याम्पस बानेश्वर, सानोठिमी क्याम्पस भक्तपुर, जनकपुर इन्जिनियरिङ कलेज भक्तपुर र काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका हुन् ।
जनप्रशासन क्याम्पस बल्खुको स्ववियु सभापतिमा अनिकेत तिवारी, बानेश्वर क्याम्पसको स्ववियु सभापतिमा भूमिराज अधिकारी, जनकपुर इन्जिनियरिङ कलेजको स्ववियु सभापतिमा प्रकाश पुडासैनी, सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सभापतिमा नरेन्द्रसिंह ठगुन्ना र काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीको स्ववियु सभापतिमा अपार पराजुली विजयी भएका हुन् ।
कैलालीमा अखिलले लम्की बहुमुखी क्याम्पसमा (तपेद्र प्याकुरेल), बुलबुले बहुमुखी क्याम्पसमा (विवेक चौधरी) र सुखडको राष्ट्रिय कलेजमा (सुन्दर गौतम ) जितेको छ ।