काठमाडौँ । काठमाडौँको झोरबाट बरामद गरिएको २५ करोड अवैध रकमबारे संसदमा आवाज उठेको छ । आज बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बिभिन्न सांसदहरुले आ-आफ्नो भनाई व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका कांग्रेसका सांसद रामहरि खतिवडाले २५ करोड अवैध रकम बरामद प्रकरणको नाइके जुन तहको भए पनि कारबाही गर्न माग गरे ।
उनले यस्ता घटनामा ड्राइभरलाई पक्राउ गर्ने तर तस्करसम्म नपुग्ने प्रवृत्ति देखिएको स्मरण गरे। उनले सरकार भ्रष्टाचारी र तस्करहरूलाई कारबाही गर्न तयार रहेको सन्देश दिन पनि माग गर्दै ठूलो अवैध रकम समात्न सफल नभएको सरकारलाई धन्यवाद दिए।
यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदले २५ करोड नगद बरामद घटनाको छानबिन गर्न विशेष समिति बनाउन माग गरेका छन् । सांसद सापकोटाले उक्त घटनामा संलग्न जोसुकै होस् कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताए। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले टोखामा ठूलो मात्रामा अवैध विदेशी मुद्रा बरामद भएको भन्दै नेपाल तस्करहरुको ट्रान्जिट प्वाइन्ट बनेको हो भन्दै प्रश्न गरिन् ।
नेकपा एमालेका सांसद रघुजी पन्तले सुन तस्करी पञ्चायत राजाको पालादेखि अहिलेसम्म उस्तै रूपमा भइरहेको बताएका छन्।उनले राजाको पालादेखि अहिलेसम्म निरन्तर सुन तस्करी हुँदा पनि अहिलेसम्म नाइके पक्राउ गर्न नसकेको बताए। मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाको झोर क्षेत्रबाट सिन्धुपाल्चोकका कुसान लामालाई २५ करोड १ लाख रुपैयाँसहित ट्रक चालक सिन्धुपाल्चोकका ३९ वर्षीय कुसाङ लामालाई नियन्त्रणमा लिएको छ ।
यस्तै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालमा सुन र अवैध मुद्रा तस्करी प्रकरणमा भरियामात्रै समातिने गरेको बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तस्करीको सामानका मालिक कहिल्यै नसमातिने विडम्बना भएको पनि बताएका छन्।
जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक तथा पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले काठमाडौंबाट २५ करोड १९ लाख बराबरको विदेशी मुद्रासहित ट्रक चालक पक्राउ परेको घटनामा सरकारको ध्यानाकार्षण गराएका छन् । उनले नयाँ प्रहरी महानिरीक्षकले फूली लगाउनु र ठूलो मात्रामा विदेशी मुद्रासहित व्यक्ति पक्राउ पर्नु संयोगमात्रै हो या पहिले पनि यस्तो तस्करी भइरहन्थ्यो भनेर प्रश्न उठाएका छन् ।