काठमाडौँ । भोली चैत ७ गतेदेखि सुरु हुने राष्ट्रिय परीक्षा बोर्ड ( एसईई) यस वर्ष जापानबाट २९ जना विद्यार्थीहरू सहभागी हुने भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार २९ जना विद्यार्थीहरुले यस बर्ष एसईई दिन लागेका हुन । नेपाल बाहिरबाट एसईईको परीक्षामा सहभागी हुने देश जापान मात्रै रहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बताए।
टोकियोनजिकै जापानको ओगिकुबोमा गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष भवन भट्टसहितका ६५ जना नेपालीहरू मिलेर स्थापना गरेको एभरेस्ट इन्टर्न्याश्नल स्कुलमा विसं २०७७ सालबाट एसईई परीक्षा सञ्चालन भइरहेको छ। नेपालमा बिहान ८ बजेबाट सञ्चालन हुने परीक्षा जापानमा भने स्थानीय समयअनुसार ११ बजेबाट सञ्चालन हुने जनाएको छ ।
बोर्डका अध्यक्ष शर्मालेका अनुसार अनलाइनबाट प्रश्नपत्र पठाउने र जापानमा रहेको नेपाली राजदूतावासका राजदूत र कर्मचारीहरूलाई अनुगमन र निरीक्षणको जिम्मा दिएको जनाएको छ। परीक्षा सम्पन्न भएपछि त्यहाँका उत्तरपुस्तिकाहरू लाहाछाप भएर नेपाल नै आउने र यहाँ सम्परीक्षण गरेर नतिजा प्रकाशित गर्ने जनाएको छ। यस वर्ष ५ लाख ८ हजार ३ सय ९० विद्यार्थी एसईईमा सहभागी हुँदै छन् ।