काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग पनि फोनवार्ता गरेका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेपछि उनले जेलेन्स्कीसँग फोनवार्ता गरेका हुन् ।
उनीहरूबीच झण्डै एक घण्टा लामो कुराकानी भएको बीबीसीले जनाएको छ । कुराकानीपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममार्फत् युक्रेन र रुससँगको फोन वार्ता उनीहरूको अनुरोध र आवश्यकताको हिसाबले सकेसम्म मिलाउने उद्देश्यले भएको प्रतिक्रिया दिएका छन् । युद्धविरामको प्रयास सकारात्मक हुनेतर्फ कामहरू अघि बढिरहेको उनको भनाइ छ ।
यसैबीच जेलेन्स्कीले पनि ट्रम्पसँगको कुराकानी सकारात्मक, स्पष्ट र धेरै सार्थक भएको प्रतिक्रिया दिएका छन् । उनले अमेरिकी सहयोगमार्फत् यस वर्ष दिगो शान्ति प्राप्त गर्न सकिने विश्वास व्यक्त गरेका छन् । जेलेन्स्कीले ट्रम्पसँग रूसी-नियन्त्रित जापोरिजिया पावर प्लान्टको सम्भावित अमेरिकी स्वामित्वमा छलफल गरेको बताएका छन् । यस अघि अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ९० मिनेट टेलिफोन संवाद गरेका थिए ।