काठमाडौँ । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिएका प्रत्येक चौका वापत विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा अनुसार शैक्षिक सामग्री वितरण थालेको छ। यसै क्रममा मंगलबार लुम्बिनी प्रदेशका तीन विद्यालयका ४४६ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका प्रत्येक चौका बराबर चार शैक्षिक सामग्री वितरण गर्ने योजना गत मंसिरमा घोषणा गरेको थियो। यस पहलले शिक्षामा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको कम्पनीले जनाएको छ।
मंगलबार कपिलवस्तु नगरपालिका–१० को श्री राष्ट्रिय माध्यमिक विद्यालय र मदरसा वहरुल उलूमका २६० विद्यार्थीलाई एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलकी मार्केटिङ, कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाइरेक्टर विषाखा लक्ष्मी खड्काले शैक्षिक सामग्री वितरण गरेका छन्। त्यसैगरी, राप्ती सोनारी गाउँपालिका–४ को श्री बालकशान्ति प्राथमिक विद्यालयका १८६ विद्यार्थीलाई एनसेलका चीफ अफ स्टाफ स्टिभन रोड्रिगेजले शैक्षिक सामग्री हस्तान्तरण गरेका छन्।

विद्यार्थीहरूले प्राप्त गरेका सामग्रीहरूमा स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामग्री समावेश छन्। क्यानका सचिव पारस खड्काले एनसेलको यस सामाजिक उत्तरदायित्व कार्यक्रम शिक्षालाई सशक्त बनाउन महत्वपूर्ण रहेको बताए।

एनसेल फाउन्डेसनले एनपीएलमा हानिएका ६५३ चौकाको आधारमा २६१२ शैक्षिक सामग्री वितरण गर्नेछ। कपिलवस्तुका विद्यालयहरूले एनसेल फाउन्डेसनको फेसबुक पेज र नेपालगञ्ज कार्यालयमार्फत सहयोग अनुरोध गरेका थिए।
