धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक चक्र बहादुर देउवाले आफ्नो बुद्धि विवेकले भ्याएसम्म आफ्नो कार्य क्षमता देखाउने बताएका छन् ।
आज पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा उनले आफू पनि यसै प्रदेशमा जन्मेको र यही हुर्केको बताउँदै आफ्नो कार्यकालमा कैलालीलाई अझ उत्कृष्ट बनाउने बताएका हुन् ।
ट्राफिक प्रहरीमा धेरै चुनौती रहे पनि तिनै चुनौतीलाई सामना गर्दै अघि बढ्ने बताए । यस्तै उनले आफूले कैलालीको कार्यभार समालेको धेरै समय नभएता पनि उनले सो अवधिमा २ सय ४२ जना सवारी चालकलाई कारबाही गरेको बताए ।
‘म आएको धेरै समय भएको छैन । यस्तै लगभग २०/२२ दिन भएको छ’ उनले भने, ‘यो अवधिमा मैलै २ सय ४२ जना सवारी चालकलाई कारबाही गरेको छु । जुन यो भन्दा पहिला महिनामा यस्तै १ सय ४० सम्म कारबाहीमा परेको देखिन्छ ।’
पछिल्लो समय सबभन्दा बढी दुर्घटना हुने भनेको सवारी चालकको लापरबाही रहेकाले यसलाई न्यूनीकरण गर्न मापसे चेकजाँचलाई कडा गर्ने बताए । यस्तै उनले आफ्नो कार्यकालमा केहि छाप राख्न सकिने गरी काम गर्ने बताए ।
‘म यहाँ आइसकेपछि केहि छाप राख्न सकिन्छ कि भन्ने मनाशायमा छु’ उनले भने, ‘सुदूरपश्चिमका नागरिकहरू अकालमै दुर्घटनामा परी ज्यान गुमाउन नपरोस् भन्ने हेतुले हामी अघि बढ्नेछौ । त्यसमा सम्पूर्णको साथ आवश्यक पर्छ ।’
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलालीमा दरबन्दी रहेका प्रहरी निरीक्षक देउवालाई काजमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा खटाइएको हो । देउवाले गत फागुन १५ गते पदभार ग्रहण गरेका थिए ।