धनगढी । सुदूरपश्चिम प्रदेशका राना थारू समुदायले आज ‘खखडेहरा पर्व’ मनाउदै छन् । कैलाली र कञ्चनपुरमा मात्रै बसोबास गर्ने राना थारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रुपमा परम्परगत शैलीमा मनाउने गर्छन् ।
राना थारूको धार्मिक एवं सांस्कृति महत्व बोकेको खखडेहरा पर्वको आफ्नै मौलिकता रहेको छ । खखडेहरा पर्वका दिन बिहानै गाउँभरिका मानिसहरु भेला भएर खखडेहरा फुटाउन गर्छन् भने आफ्नो समुदायका नागरिकहरुको रोगब्याधी नलागोस् भनेर गाउँबाहिर गएर परम्परागत शैलीमा पूजासमेत गर्ने प्रचलन छ ।
राना थारू समुदायमा एक महिनासम्म होली मनाउने प्रचलन छ । फागू पूर्णिमादेखि पम्परागत शैलीमा एक महिना राति होली खोलिन्छ। खखडेहरा पर्वका दिन बिहानै गाउँभरिका मानिसहरु खखडेहरा फुटाउन जान्छन् । खखडेहरन फुटाउन जाँदा गाग्रो, लोटा, खपटेलका टुक्रा, माटोको मट्याङग्रा र सात प्रकारको अन्न, सुकेको गोवर आदि आवश्यक पर्छ ।खखहडेरा गाउँभन्दा बाहिरबाट गाउँलेले ल्याएका सामग्रीहरु एकजुट गरी प्रधान वा गाउँको चौकीदारले फुटाउने चलन छ । खखडेहरा फुटाइसकेपछि घर आउँदा फर्केर हेर्न नहुने मान्यता छ।
खखडेहरा फुटाएर आउनेहरुले फेरि होलीमा चलाइएको धुलो (खरानी) लिएर गाउँका भलमन्सा, प्रधान, अगुवालगायत सबैको घरमा पुगेर टीका लगाई आशीर्वाद दिने र खुसियाली मनाउने गरिन्छ । सो अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ ।