वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतगणना स्थगित भएको छ ।मतगणनाका क्रममा एउटा मतपेटिकामा मतदान सकिएका दिन लगाइएको सिलबन्दी नम्बर मतगणना गर्ने क्रममा खोल्न लाग्दा मेल नखाएपछि विवाद भएको र त्यही विवादका कारण मतगणना स्थगित भएको हो ।
गत मङ्गलवार मतदान सकिए लगत्तै निर्वाचन समितिले मतपेटिका सिल गरेर मुचुल्का उठाउने क्रममा उम्मेदवारका प्रतिनिधीहरुलाई पनि सिलबन्दी नम्बर दिएको थियो ।बिहीबार दिउँसो एउटा मतपेटिका खोल्ने क्रममा उम्मेदवारका प्रतिनिधीसंग रहेको सिलबन्दी नम्बर र मतपेटिकामा रहेको सिलबन्दी नम्बर मेल नखाएपछि विवाद भएको हो ।
मतपेटिकाको सिलबन्दी नम्बर फरक परेपछि मतगणनामा खटिएका उम्मेदवारका प्रतिनिधीहरुले क्याम्पस प्रशासन र निर्वाचन समितिविरुद्ध नाराबाजी गर्दै प्रदर्शनसमेत गरेका छन् । उनीहरूका सङ्गठनहरूले पनि क्याम्पसको मूल गेट अगाडि टायर बालेर प्रदर्शन गरे ।
उम्मेदवारी दर्ता गरेका १४ मध्ये १० सङ्गठनका नेताहरूले मतदानमै धाँधली गरिएको भनेर आँफुहरुले यसअघि लगाएको आरोप अहिले गणनाका क्रममा पुष्टि नै भइसकेले पुन मतदानको माग गरेका छन् । अनेरास्ववियु,अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जय नेपाल विद्यार्थी सङ्घ, स्वतन्त्र विद्यार्थी समूह,सुधीर पटेल समूह लगायतका १० सङ्गठनहरूले पुन मतदानको माग गरेका हुन् ।
यता नेविसंघ,नेपाल विद्यार्थी समूह लगायत चार वटा सङ्गठनहरूले भने विवादित मतपेटिकालाई तत्काल अलग्गै राखेर बाँकी रहेका अरू मतपेटिकाको मतगणना सुचारु गर्नुपर्ने पक्षमा छन् ।
बिहीबार दिउँसो मतगणना अवरुद्ध हुनुअघि निर्वाचन समितिले सार्वजनिक गरेको मतगणनाको परिणाम अनुसार, सभापति पदमा नेविसंघबाट विद्रोह गरेर नेपाल विद्यार्थी समूहको नामबाट उम्मेदवार बनेका राज कुमार यादव ४२० मतका साथ पहिलो स्थानमा छन् ।