काठमाडौं । गएको फागुन महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक रहेका छन् । ती आगलागीका घटनमा ३० पुरुष, २६ महिला, ६ बालक र तीन बालिका घाइते भएका छन् ।
एक महिनामा देशभर ५०१ आगलागीका घटना भएको नेपाल प्रहरीले जनाएको छ। आगलागीबाट ८७ घर र ५७ गोठमा क्षति भएको छ। आगलागीबाट १४६ पशुचौपाय मरेका छन् ।घटनापछि ३८ परिवार विस्थापित भएका छन् । आगलागीबाट ४० करोड ४८ लाख बराबरको क्षति भएको छ ।
सबैभन्दा बढी कोशी प्रदेशमा १३५ आगलागीका घट्ना भएका थिए । मधेस प्रदेशमा १०५, बाग्मती प्रदेशमा ४४, काठमाडौँ उपत्यकामा ४९, गण्डकी प्रदेशमा ३३, लुम्बिनीमा ६४, कर्णालीमा ३० र सुदूरपश्चिम प्रदेशमा ४१ आगलागीका घटना घटेका छन् ।वर्षा कम भएको र सुक्खा मौसमका कारण देशका ठाउँठाउँमा आगलागीका घटना भइरहेका छन् ।
