काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन २०८२ मङ्सिर मसान्तभित्रै हुनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस मोरङ–काठमाडौं सम्पर्क समितिले आज काठमाडौंमा आयोजना गरेको ‘देशको वर्तमान अवस्था, चुनौतीहरू र नेपाली कांग्रेसको भूमिका’ का विषयक अन्तरक्रिया कार्यक्रममा नेता डा कोइरालाले महाधिवेशन २०८२ मङ्सिर मसान्तभित्र नभए पार्टी कमजोर हुँदै जाने बताए । उनले महाधिवेशन समयमै गर्न सबैले आवाज उठाउनुपर्ने बताए ।
‘महाधिवेशन २०८२ मङ्सिरभित्र नभए कांग्रेस कमजोर हुँदै जान्छ । त्यतातिर ध्यान दिनुपर्छ, यो एकदम संवेदनशील कुरा हो,’ नेता डा कोइरालाले भने । उनले राजनीतिक दल र नेतृत्वप्रति जनताको वितृष्णा बढेको उल्लेख गर्दै जनताको निराशालाई हटाउन जरुरी भएको धारणा राखे । नेता डा कोइरालाले कांग्रेस जनताको पार्टी भएकाले कांग्रेसप्रति नागरिकको विश्वास कायमै रहेको बताए।