नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय मुलुक विकासको मार्गमा अघि बढिरहेको बताएका छन् ।
पश्चिम नवलपरासीको परासीमा आज आयोजित कांग्रेस नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं २ को प्रथम क्षेत्रीय सम्मेलनमा उनले स्वास्थ्य, शिक्षा, सडक, कृषि, सिँचाइ, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारलगायत क्षेत्रमा विकास हुँदै गएको बताए ।
उनले भने, ‘२०४६ सालपछि देशमा, स्वास्थ्य, शिक्षा, सडक, कृषि, सिँचाइ, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारलगायत क्षेत्रमा उल्लेख्य मात्रामा विकास भएको छ । हामीले केही भएको छैन भन्नुभन्दा विकासले गति लिँदै छ भन्नु आवश्यक छ ।’
नेपाली युवालाई मुलुकमा विकास भएको छैन भनेर गलत सन्देश कसैले प्रवाह गर्न नहुने धारणा राख्दै महामन्त्री थापाले युवाका लागि स्वरोजगारका अवसर सृजना गरी विदेश पलायन दर रोक्न सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिए ।