काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको कामका लागि सरकारलाई धन्यवाद दिएका छन् ।
टीयू क्रिकेट मैदानमा भइरहेको निर्माण कार्यको तस्वीर शनिबार सामाजिक सञ्जालमा साझा गर्दै खड्काले एउटा दीर्घकालीन सपना अन्तत: पूरा हुन लागेको बताएका छन् । नेपाल क्रिकेटसँग सम्बन्धित सबैका लागि यो अपार खुशी र गर्वको विषय भएको खड्काले उल्लेख गरेका छन् ।
‘त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको विकास र त्यहाँ फ्लडलाइट जडानको कामलाई तीव्रता दिने नेपाल सरकारको अनुकरणीय पहलप्रति हामी हार्दिक आभार प्रकट गर्दछौं । यो महत्वपूर्ण पूर्वाधारले क्रिकेट तथा खेलकुदको प्रवर्द्धनसँगै राष्ट्रको आर्थिक वृद्धिमा टेवा पुर्याउने ऐतिहासिक कदमको प्रतिनिधित्व गर्दछ’, खड्काले लेखेका छन् । उनले सबै खेलाडी, पदाधिकारी, समर्थक तथा सरोकारवालाहरूलाई पनि धन्यवाद दिएका छन् ।