पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा आज स्ववियु निर्वाचन भइरहेको छ । निर्वाचन समितिका अनुसार बिहान ८ बजे सुरु भएको मतदान अपराह्न ४ बजेसम्म चल्नेछ ।
चैत ५ गतेका लागि निर्धारित मतदान मतपत्रमा गडबडी देखिएपछि स्थगित भएको थियो । त्यसपछि विद्यार्थी सङ्गठनबीच सहमति गरी आजका लागि मतदानको मिति तय भएको थियो ।१६ वर्षपछि हुन लागेको निर्वाचनमा स्ववियु सभापतिमा २ स्वतन्त्रसहित ८ उम्मेदवार मैदानमा छन् । क्याम्पसमा ९ हजार २७० मतदाता रहेका छन् ।
एमाले निकट अनेरास्ववियुबाट विष्णु पोखरेल, नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुशील न्यौपाने, अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी, अनेरास्ववियु, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङ र अखिल छैटौँबाट मिलन सुनार अध्यक्षका प्रत्यासी छन् ।समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्य) का उम्मेदवारहरू पनि चुनावी मैदानमा छन् ।