काठमाडौँ । कृषि प्रधान मुलुक नेपालमा चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा धान र चामलको आयात दोब्बरले बढेको छ । भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालले २९ अर्ब रुपियाँ बराबरको धान र चामल आयात भएको छ ।
जसमध्ये विगत आठ महिनामा १६ अर्ब ७१ करोड रुपियाँ बराबरको धान आयात भएको छ । गत आर्थीक वर्षको सोही अवधिमा आठ अर्ब ६४ करोड रुपियाँको धान आयात भएको थियो । तथ्याङ्कले धानको आयात करिब दोब्बरले बढेको देखाउँछ । त्यस्तै आठ महिनामा १२ अर्ब ३६ करोड ७२ लाख रुपियाँ बराबरको चामल आयात भएको छ । गत आर्थीक वर्षको सोही अवधिमा छ अर्ब ३९ करोड ६२ लाख १३ हजार रुपियाँ बराबरको चामल आयात भएको थियो ।
धान तथा कृषिजन्य उत्पादन वृद्धि गर्ने लक्ष्यसहित सरकारले चालु आवमा २७ अर्ब रुपियाँमा रासायनिक मलको अनुदानका लागि विनियोजन गरेको छ । सरकारी अनुदान बढ्दै गए पनि धानचामलको आयात घट्नुको सट्टा झन् दोब्बरले बढेको तथ्याङ्कले देखाउँछ । गत आव २०८०/८१ मा २२ अर्ब बराबरको धानचामल आयात भएको थियो । यस वर्ष आठ महिनामै २९ अर्ब बराबरको धानचामल आयात भएको छ ।
यस्तै आव २०७९/८० मा ३६ अर्ब ५० करोड बराबरको धानचामल आयात भएको थियो । सामान्य अवस्थामा वार्षिक ५० अर्ब रुपियाँ बराबरको धानचामल आयात हुने गरेकोमा विगतमा भारतले बासमती चामल आयातमा भन्सार महसुुल लगाएकाले पनि आयातमा कमी भएको थियो । यस वर्षमा भने ५० अर्ब बराबरको धान चामल आयात हुने तथ्याङ्कले देखाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । मुलुकमा वार्षिक ६५ देखि ७० लाख मेट्रिक टन धानको आवश्यक पर्ने बताएको छ । स्थानीय माग अनुसार धानको उत्पादन नहुँदा ठुलो परिमाणमा धानचामल आयात भएको छ । छिमेकी मुलुक भारत, चीन, अर्जेन्टिना, साउथ अफ्रिका, इन्डोनेसिया, मेक्सिको, थाइल्यान्ड, मलेसियालगायतका देशबाट नेपालमा खाद्यान्न आयात हुने गरेको छ ।