काठमाडौँ । अमेरिकी सरकार अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ ।
संयुक्त राज्य अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति दिएको एमसिए नेपालले जनाएको छ ।
अगाडि बढाउन अनुमति दिइएका कार्यमा खरिद कार्यहरू र कार्यालय सञ्चालनसम्बन्धी आवश्यक कार्य रहेको एमसिए नेपालले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । ‘एमसिए–नेपाल कामहरूको पुनः थालनीका लागि व्यवस्थापन गरिरहेको छ भने पारदर्शिताप्रति प्रतिबद्ध रहेको छ’ सूचनामा जनाइएको छ । त्यस्तै सूचनामा अमेरिकी सरकारको वैदेशिक सहायतासम्बन्धी समीक्षाबारे अद्यावधिक विवरणको प्रतीक्षा गरिरहेको र आफूबाट हुनुपर्ने कामहरू भएको सुनिश्चित गर्न नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग निकटतापूर्वक समन्वय गरिरहेको पनि उल्लेख गरिएको छ ।
एमसिएस नेपालले जारी गरेको सूचनामा तत्कालका लागि काम अगाडि बढाउन अनुमति प्रदान गरिए पनि अमेरिकी सरकारको समीक्षाबाट बाहिर निस्कन सक्ने परिणामप्रति भने कुनै सङ्केत नगर्ने प्रस्ट पारिएको छ ।
यसअघि अमेरिकी सहायता संस्था एमसिसीले गत फागुन २ गते अर्थ मन्त्रालयलाई इमेलमार्फत ९० दिनका लागि भुक्तानी रोकिएको जानकारी गराएको थियो । एमसिसी फन्डबाट भुक्तानी हुने क्रियाकलाप अमेरिकी राष्ट्रपतिको सन् २०२५ जनवरी २० मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेश अनुसार रोकिएको जानकारी गराइएको मन्त्रालयले जनाएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी समालेसँगै अमेरिकाले प्रदान गरिरहेको अनुदान कार्यक्रम ९० दिनका लागि स्थगन गर्ने घोषणा गरेका थिए ।