काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकको गलत मेडिकल रिपोर्ट दिने अभ्यासलाई नियन्त्रण गर्न डिजिटलाइज गर्नुपर्ने उच्चस्तरीय विशेषज्ञ सम्मिलित कार्यदलको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।
गत मंसिर ११ गते तत्कालीन अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा गठित उच्चस्तरीय विशेषज्ञ सम्मिलित कार्यदलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई प्रतिवेदन बुझाउँदै गुणस्तरीय स्वास्थ्य परीक्षण गर्न ‘सेन्टरलाइज्ड डिजिटल रेपोजिटरी सिस्टम’ स्थापना गर्न सरकारलाई सिफारिस गरेको थियो।
श्रम मन्त्री भण्डारीले शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट श्रमिकलाई उच्च तापक्रम (हिट स्ट्रेस)बाट हुने मुटु र मिर्गौला फेल जस्ता जटिल प्रकृतिका स्वास्थ्य समस्याबाट जोगाउन प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेका हुन्।
श्रमले गत भदौ १३ गते वैदेशिक रोजगारीमा जाने र गएका नेपालीको स्वास्थ्य परीक्षणको विषयमा अध्ययन गरी सुझाव दिन विज्ञ सम्मिलित ३० सदस्यीय अध्ययन कार्यदल बनाइएको थियो। जसमा वीर, टिचिङ, पाटन, सहिद धर्मभक्त, शुक्रराज ट्रपिकल, क्रिष्ट मेडिकल, तिलगंगा आँखा अस्पताल लगायतका अस्पतालका विशेषज्ञ डाक्टरहरू थिए।
डिजिटलाइजेसनले स्वास्थ्य संस्था, चिकित्सक र श्रमिकलाई जिम्मेवार बनाउने प्रतिवेदनमा उल्लेख छ। कार्यदलका अध्यक्ष डा. सिंहले विधि पुर्याउन मात्रै वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण भइरहेको बताए।