काठमाडौं । बारा र पर्सा जिल्लास्थित औद्योगिक करिडोर र आम उपभोक्ताको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन उच्च क्षमताका तीनवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ ।
बाराको अमलेखगञ्ज तथा प्रसौनी र पर्साको वीरगञ्जमा निर्माणाधीन १३२ केभी क्षमताका तीनवटा सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन गरी सबस्टेसन र प्रसारण लाइन निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए ।
वीरगञ्ज क्षेत्रको विद्युत् माग एवम् आपूर्ति व्वस्थापन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेसन महत्पूर्ण रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो अवस्थामा संवेदनशील र जिम्मेबार भएर निर्धारित समयमै काम सम्पन्न गर्न आग्रह गरे ।
पथलैया–सिमरा–वीरगञ्ज औद्योगिक करिडोरको विद्युत् आपूर्तिको समस्या समाधान र बढ्दो माग पूर्ति गर्न अमलेखगञ्ज १३२-६६ केभी सबस्टेसन तयार भएको छ । उक्त सबस्टेसनमा रहने अधिकांश मुख्य उपकरणहरु जडान भइसकेका छन्। अमलेखगञ्ज सबस्टेसनलाई आगामी जेठको दोस्रो साता भित्र सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका कामहरु भइरहेका छन् ।