नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयलाई गल्त भएकाे भन्दै कडा आलोचना गरेका छन् । सरकारले यस्तो निर्णय गरेर जनता बीच असन्तुष्टिको आगोमा तेल हाल्ने काम गरेको बताएका छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकमा सरकारले कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेपछि गगन थापाले सरकारको आलोचना गरेका हुन् । उनले भनें, "यस्तो बेला सरकारको डेलिभरीबाट असन्तुष्टिलाई सम्बोधन गर्दै आगो निभाउन दिन रात मेहनत गर्ने जिम्मेवारीमा रहेकालाइ सम्मान गर्नुकाे सट्टा सरकारले आफैँ असन्तुष्टिको आगोमा तेल हाल्ने काम गरेको छ ।"
उनले, "मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो... तर विडम्बना, त्यो भएन । उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन। "
महामन्त्री थापाले यस निर्णयलाई सरकारको असमर्थता र गलत दिशा चयनको संकेत मान्दै सरकारलाई सचेत गराउन खोजेका छन् । उनले, "हामीले जुन कठिन समयमा काम गरेका छौं, त्यो समयका निरन्तर दबाब र चुनौतीलाई पार गर्दै गर्दा यस्तो निर्णय आएपछि जनतामा थप असन्तोष फैलिन सक्छ ।"
यसअघि पनि नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले यस निर्णयको विरोध गर्दै कुलमान घिसिङको कामको प्रशंसा गरेका थिए र सरकारको यो कदम गलत भएको बताएका थिए । शर्माले भनेका थिए, "कुलमान घिसिङले विद्युत् प्राधिकरणको सुधारमा महत्वपूर्ण भूमिका खेलेका थिए, उनकाे नेतृत्वमा विद्युत् आपूर्ति सुधारमा निकै सफलता प्राप्त भएको छ ।"
सरकारका यस निर्णयको पछाडि के कारण छ भन्ने विषयमा स्पष्टीकरण भने खुलाइएको छैन । तथापि, यस घटनाले राजनीतिक र प्रशासनिक क्षेत्रको आलोचना र बहसलाई जन्माएको छ ।