काठमाडौँ । सोमबार साँझ बसेको मन्त्री परिषद बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि अहिले सर्वत्र विरोध भइरहेको छ।
सत्तारुढ दलदेखि विपक्षी अनि जनस्तरसम्म पनि सरकारको चर्को आलोचना भइरहेको छ कुलमानलाई हटाउने सरकारी निर्णयको सत्तारूढ दल कांग्रेसबाटै पनि विरोध भएको छ। कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा लेख्दै कुलमान हटाउने निर्णयको विरोध गरेका हुन्।
सामाजिक सञ्जालमा कांग्रेस महामन्त्री थापाले घिसिङलाई सरकाले हटाउनु गलत भन्दै सरकारले आफूहरूको सुझाव लत्याएको भन्दै उल्टो बाटो हिँडेर गन्तव्यमा पुग्न नसकिने बताए ।
यस्तैअर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकारको निर्णयप्रति विमति प्रकट गरेका छन्।शर्माले सामाजिक सञ्जालमार्फत् कुलमान घिसिङलाई पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमति नरहेको बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रूपमै सजग गराइएको भएपनि अहिलेको निर्णयप्रति विमति रहेको बताए ।
यस्तै सत्तारुढ दल नेपाली कांग्रेसकै अर्का नेता डा. शेखर कोइरालाले पनि असन्तुष्टि जनाएका छन्। एनले सरकारको कुशासनको निरन्तरताको अर्को कडीभन्दै आक्रोश व्यक्त गरे ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले पनि कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णयलाई गलत र आपत्तिजनक भनेका छन्।
उनले देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रूपमा आफ्नो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको बताउदै सरकारको यो निर्णय दुईतिहाइ बहुमतको दम्भमा गरिएको भन्दै घोर निन्दा व्यक्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको निर्णयविरुद्ध मैनबत्ती बालेर विरोध जनाए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुलमानलाई कार्यकालको अन्तिम समयमा हटाएर सरकारले अपमान गरेको टिप्पणी गरे । कुलमानलाई राम्रो काम गरेकाले सम्मानसाथ बिदाइ गर्नुपर्नेमा अपमान गरिएको उनको भनाइ छ। यस विषयमा संसद्मा आवाज उठाइने उनले बताए।
यस्तै कलाकार हरिवंश आचार्यले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कुलमान हटाउने सरकारको निर्णय गलत भएको बताएका हुन् ।
यस्तै नेकपा माओवादी केन्द्रका उपमहासिचव एवं पूर्व ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेकोमा असन्तुष्टि जनाएका छन्।उनले सामाजिक सन्जालमा राम्रो काम गर्नेलाई लखेट्ने सोँच, प्रवृत्ति र पात्रले अन्ततस् हार्ने बताएका छन्।
घिसिङको कार्यकाल सकिन चार महिना मात्र बाँकी रहेका बेला मन्त्रिपरिषद्को सोमबार साँझको बैठकले घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो।