घोराही । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको गणपति भेनियर तथा साङ्ग्रीला प्लाई उद्योगमा लागेको आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन ।
उद्योगमा आगलागी भएको करिब ३२ घण्टा बितिसक्दा पनि आगलागी पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिएछ । उनका अनुसार आगो करिब ९० प्रतिशत नियन्त्रणमा रहे पनि पूर्णरुपमा अझै आइसकेको छैन ।
आगो नियन्त्रणका लागि सोमबार बिहान २ बजेदेखि निरन्तर प्रयास जारी रहेपनि पूर्णरुपमा अझै आगो नियन्त्रण नआएको बताए । उनले आगो निभाउँदै जलेका सामग्री पन्छाउदै अगाडि बढ्नुपर्ने भएका कारण आगो पूर्णरुपमा नियन्त्रणमा आउन समय लागेको र रातभर पनि आगो निभाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए । आगलागीबाट उद्योगका सबै सामग्री नष्ट भएका छन् ।
उद्योगमा चिरान गरिएको काठसँगै प्रज्वलनशील वस्तु राखिएका कारण आगो नियन्त्रणका लागि प्रयास गर्दा पनि नियन्त्रणमा आउन ढिलाई भएको र अहिलेसम्म ९० प्रतिशत आगो नियन्त्रण भएको जनाएको छ।
आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीसँगै वनको डढेलो नियन्त्रण टोली गरेर करिब दुई सय जनाको टोली आगलागी नियन्त्रणका लागि प्रयास गरिरहेका छन् ।