काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको पुष्टि गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले घिसिङलाई बर्खास्त गरिएको पुष्टि गरेका हुन् ।
‘नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइने निर्णय पनि भएको छ,’ उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा श्री हितेन्द्रदेव शाक्य, ललितपुरलाई नियुक्त गर्ने निर्णय पनि भएको छ ।’
यसअघि सोमबार बेलुकी बैठकका निर्णयबारे संक्षिप्त जानकारी दिने क्रममा उनले कुलमानबारे जबाफ दिन इन्कार गरेका थिए ।