काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो ।
सरकारले कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेपछि मंगलबार साँझ रत्नपार्कस्थित प्राधिकरणको कार्यालय पुगेर उनले पदभार सम्हालेका हुन् ।
को हुन् शाक्य ?
हितेन्द्रदेव शाक्यले नेपाल विद्युत् प्राधिकरण र अन्य सरकारी निकायहरूमा ३४ वर्षभन्दा बढी समय काम गरिसकेका छन् । इलाम जन्मथलो भएका शाक्य हाल ललितपुर महानगरपालिका– ११ मा बस्छन् ।
यसअघि उनले नोभेम्बर २०२० देखि अगस्ट २०२१ सम्म उनले प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा काम गरेका थिए । उनको कार्यकालमा नेविप्राले नेपालमा पहिलो पटक ४०० केभी ढल्केवर सवस्टेशन सञ्चालन गरेको थियो । नेपालभित्रै पहिलोपटक २२० केभी ट्रान्समिसन लाइन दानादेखि कुश्मासम्म सञ्चालन गर्ने काम पनि उनले गरेका थिए ।
नेपालमा हालसम्मकै ठूलो विद्युत् आयोजनामा माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ९४५६ मेगावाट० सम्पन्न गरी सञ्चालनमा ल्याउने काम पनि शाक्यले गरेका थिए ।
सन् २०१७ देखि नोभेम्बर २०२० सम्म तीन वर्ष उनले एनईए इन्जिनियरिङ कम्पनीको संस्थापक प्रबन्ध निर्देशकको रुपमा काम गरेका थिए । यो कम्पनीले प्रारम्भिक अवधिमै ४ हजार मेगावाटभन्दा बढीको ठूलो जलविद्युत् परियोजनाको डिजाइन र उच्च भोल्टेज ट्रान्समिसन लाइनहरूको डिजाइन गरेको थियो ।
प्राधिकरणमा उनले पावर ट्रेड विभाग, प्रणाली योजना विभाग, ठूला विद्युत् आयोजना आदि विभागको निर्देशकको रुपमा काम गरेका थिए । सन् २०१४ मा भएको भारत र नेपालको बीचको विद्युत् व्यापार सम्झौतामा उनले काम गरेका थिए ।