काठमाडौँ । संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक आज बस्ने भएका छन् । बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेछ भने दिउसो १ः१५ मा राष्ट्रियसभा बैठक बस्नेछ ।
प्रतिनिधि सभा बैठकमा 'बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०'का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिनेछ । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको'नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन)विधेयक, २०८१ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

राष्ट्रिय सभाको बैठकमा भने भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची छ ।यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्ने सम्भावित कार्यसूची पनि छ ।

