काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् ।
सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री प्रदीप पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रवि मल्लले जानकारी दिए ।
हाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रति बालबालिका दुई लाख ५० हजार सहायता दिँदै आएको छ । उपचार लिनेको सङ्ख्या बढिरहँदा केन्द्रले त्यसमा आन्तरिक स्रोतसमेत थप गरेर आर्थिक अभावको समस्या भोगेका बालबालिकाको शल्यक्रियासहितका सेवा उपलब्ध गराउने निर्णय गरेको हो । नेपालमा एक हजार बालबालिकामध्ये ८ देखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको एक अध्ययनले देखाएको छ ।