काठमाडौं । सभामुख देवराज घिमिरेले तीनकुने घटनाबारे संसद्मा बहसको वातावरण बनाउन प्रमुख दलका प्रमुख सचेतकहरूसँग आग्रह गरेका छन् । राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद् जीवन्त रहेको महसुस गराउन उनले अपिल गरेका हुन् ।
दुई दिनअघि भएको तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्मा छलफल र बहसको वातावरण बनाउन आवश्यक रहेको सभामुखको ठहर थियो । अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदनको अवरोध कुनै पनि हालतमा उचित नहुने उनको भनाइ थियो ।
बैठकमा एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने विषयमा जानकारी गराएका थिए ।
बैठकले सत्तापक्षले सदन अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको छ । विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जानकारी दिएको छ ।आज बिहान ११ बजे बोलाएको सदन अझै बस्न सकेको छैन् ।