काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टीमा फर्किएका छन् । कास्की जिल्ला अदालतमा सहकारी ठगीलगायत चार कसुरमा मुद्दा दर्ता भएपछि लामिछाने पार्टीको जिम्मेवारी अलग भएका थिए ।
त्यस्तै पार्टी उपसभापति डिपि अर्यालले पुस ८ यता लामिछानेको जिम्मेवारी सम्हालिरहेकामा रवि लामिछाने पुनः पुरानै जिम्मेवारीमा फर्किएका हुन् । लामिछाने भोलिको पार्टीको बैठकमा सहभागी हुने भएका छन् ।भोलि दिउँसो पार्टीको केन्द्रीय समितिको विशेष बैठकबाट रास्वपाले रविलाई पार्टीमा भित्राउने भएको छ ।
रास्वपाका सभापति लामिछानेको सांसद पद भने अझै निलम्बनमा रहेको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ मा ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिने भएकाले उनको सांसद पद निलम्बित भएको हो ।
रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न माग गरिएपनि उनको मुद्धाको टुङ्गो लागिनसकेकाले अझै सांसद पद फुकुवा नहुने देखिएको छ । रविले बिभिन्न जिल्लाका चार वटा अदालतमा वयान दिई धरौटीमा समेत रिहा भइसकेका छन् ।
सहकारीको रकम अपचलन मुद्दामा ४ वटा जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछाने यतिखेर काठमाडौंको बूढानीलकण्ठ स्थित निवासमै छन् । रवि ४ वटा जिल्लामा गरी कुल २ करोड ७९ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । अहिले ४ जिल्लाकै अदालतमा तारिख बुझिरहेका छन् ।
रविविरुद्ध पर्सामा समेत सानो पाइला सहकारीको रकम अपचलनमा अनुसन्धान चलिरहेको छ । उनले सरकारी वकिलको कार्यालयमा पुगेर बयान दिइसकेका दिइसकेपनि मुद्दा दायर भने अझै भएको छैन । विभिन्न सहकारीको रकम गोरखा मिडियामा ल्याएपछि अपचलनमा संलग्न रहेको भन्दै संसदीय छानबिन विशेष समितिले रविमाथि कारबाही गर्न सिफारिस गरेको थियो ।
त्यसपछि सबैभन्दा पहिले सूर्यदर्शन सहकारी ठगीमा कास्की प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो । रवि कात्तिक २ गते वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए ।