काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ अन्तर्गत आज बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।बुटवल लुम्बिनी आफ्नो दोस्रो खेल खेल्दैछ भने धनगढीको यो पहिलो खेल हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।
सात टोली सहभागि लिगमा आजको खेलपछि सबै टोलीले कम्तीमा एक खेल खेल्नेछ । बुटवल लुम्बिनीले यसअघि झापा एफसीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । आज बुटवल लुम्बिनी कप्तानबिनै मैदान उत्रनेछ । यस्तोमा बुटवल लुम्बिनीको कप्तानी मार्की खेलाडी मनिष डाँगीले गर्नेछन् ।
यसअघिको दुई संस्करणको उपविजेता धनगढी एफसी डिफेण्डर देवेन्द्र तामाङको कप्तानीमा मैदान उत्रदैछ । धनगढीले यस सिजन युवा मिडफिल्डर कृतिश रत्न छुन्जुलाई मार्की बनाएको छ ।पहिलो पटक उपाधि जित्ने लक्ष्यमा रहेको धनगढीले यस पटक विदेशी प्रशिक्षक अनुबन्ध गरेको छ भने दुई विदेशी खेलाडीलाई समेत निरन्तरता दिएको छ ।