काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार गोविन्द कोइराला अध्यक्ष पदमा विजयी भएका छन् ।
नेविसंघले सम्पूर्ण प्यानलसहित जित हात पारेको नेविसंघका केन्द्रीय प्रवक्ता सुरज सेजुवालले जानकारी दिए । उनका अनुसार कुल २६७१ मत खसेकोमा कोइरालाले १२१५ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भए। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६८३ मत पाएका थिए भने अनेरास्ववियुका उम्मेदवार प्रमित विष्टले ४३१ मत ल्याएका थिए ।
यस चुनावमा नेविसंघविरुद्ध विभिन्न ७ वटा विद्यार्थी संगठनहरूबीच गठबन्धन बनेको थियो । अनेरास्ववियु, अखिल (क्रान्तिकारी), अनेरास्ववियु (क्रान्तिकारी बहुमत), अनेरास्ववियु (समाजवादी) लगायतका ६ कम्युनिस्ट घटकका विद्यार्थी संगठनहरू तथा एक आदिवासी जनजाति महासंघको विद्यार्थी संगठनले मोर्चा बनाएर उम्मेदवारी दिएका थिए ।
नेविसंघका केन्द्रीय सभापति दुजाङ शेर्पाले गठबन्धनको मोर्चालाई पराजित गर्दै नेविसंघका कोइरालाले अध्यक्ष पदमा जित हासिल गरेको बताए । विजयी भएका कोइराला नेपाली कांग्रेसका महामन्त्री गगन थापानिकट मानिन्छन् ।