धनगढी । सुदूरपश्चिम प्रदेश सरकार सभामुख भीमबहादुर भण्डारीलाई हटाउने कसरतमा लागेको पाईएको छ । माओवादी केन्द्रबाट प्रदेशसभामा निर्वाचित भएर सभामुख भएका भण्डारीलाई सत्ता साझेदार दल नेपाली कांग्रेस र एमाले हटाउने कसरतमा लागेको पाईएको हो ।
स्वतन्त्रले समर्थन गरे दुई तिहाई पुग्ने भएपछि सरकारपक्षले स्वतन्त्र सांसदसंग कुराकानी थालेको छ ।प्रतिपक्षी दलहरूले २७ फागुनदेखि प्रदेशसभा बैठक चल्न दिएका छैनन् । सरकारले मनलाग्दो ढंगले राजनीतिक नियुक्ति गरेको, जथाभावी बजेट बाँडेको र फजुल खर्च बढाएको आरोप उनीहरूको छ । पूर्वउद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीको विवादास्पद संवादबारे उच्चस्तरीय छानबिनको माग पनि उनीहरूले गरेका छन् । तर, एमाले र कांग्रेस भने विपक्षीको विरोध कायमै रहे पनि सदन चल्नुपर्ने पक्षमा छन् । त्यसमा सभामुख भण्डारीले साथ नदिएको भन्दै सभामुख हटाउन कसरत अघि बढेको हो ।
जसका लागि प्रदेश सरकारमा रहेको मुख्य दुई दल नेपाली काँग्रेस र एमालेले स्वतन्त्र प्रदेशसभा सदस्य डा. तारा जोशीलाई मन्त्रीको अफर दिएको चर्चा पनि छ। यस्तै स्वतन्त्र सांसद जोशी तयार नभएको अवस्थामा राप्रपाकी प्रदेशसभा सदस्य खेमादेवी बिष्टलाई मन्त्रीको अफर गर्ने तयारी थालेको स्रोतको दाबी छ। यता राप्रपाले केन्द्र र प्रदेश दुवैमा प्रतिपक्षमा बस्दै आएको छ । त्यसकारण यहाँ पनि सरकारमा सहभागी नहुने देखिन्छ ।
अहिले सुदूरपश्चिम सरकारमा १८ प्रदेशसभा सदस्य रहेको नेपाली काँग्रेस, १० प्रदेशसभा सदस्य (उपसभामुखबाहेक) रहेको नेकपा एमाले र सात जना प्रदेशसभा सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी गरी ३५ प्रदेशसभा सदस्यको समर्थन छ। ५३ सदस्यीय प्रदेशसभामा सभामुखविरुद्ध पद अनुकूल आचरण नगरेको प्रस्ताव पेश भए उक्त प्रस्ताव पारित हुनका लागि ३६ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्नेछ ।