काठमाडौं । सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ।
त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ।
आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ। अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मिएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरेको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।