काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दल दर्ता हुने भएको छ । आगामी २०८४ सालको निर्वाचनमा सहभागी हुने भएपछि यसअघि बसेको पोलिटब्युरो बैठकले दल दर्ता गर्ने निर्णय गरेको हो ।
नेकपा पोलिटब्युरो सदस्य चिरञ्जीवी ढकालले आगामी निर्वाचनमा सहभागी हुने भएपछि आधिकारिक रूपमा निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको जानकारी दिए । आगामी हप्ता दिनभित्र निर्वाचन आयोगमा दर्ता भइसक्ने उनले बताए ।
दल दर्ता गर्न पार्टी सचिवालय सदस्य कर्णजित बुढाथोकी, ढकाल र कपिल पोखरेललाई जिम्मेवारी दिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग तत्काल एकता प्रक्रिया अघि बढ्ने सङ्केत नदेखिएपछि विप्लव समूह दल दर्ता गर्ने अवस्थामा पुगेको बताइएको छ । समाजवादी मोर्चामा दुवै दल सहभागी भए पनि एकताले गति लिने अवस्था कम देखिएको छ ।