काठमाडौँ । विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका अन्य भागमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै गएको भन्दै त्यसको नियन्त्रणमा तत्काल आवश्यक कदम चाल्न आह्वान गरिएको छ ।
वातावरणसँग सम्बन्धित विभिन्न संस्थाहरूले आज संयुक्त विज्ञप्तिमार्फत वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्न आग्रह गरेका छन् ।
नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष चन्द्रशेखर कार्की, प्रकृति रिसोर्सेज सेन्टरका कार्यकारी निर्देशक राजु पण्डित क्षेत्री, स्वच्छ ऊर्जा नेपालका महासचिव राजन पराजुली, अभ्नी भेन्चर्सका निर्देशक सिलसिला आचार्य र वातावरणविद् भुषण तुलाधरले विज्ञप्तिमार्फत उपत्यकामा धुवाँ फाल्दै कुद्ने सवारीलाई तत्काल रोक लगाउनुपर्ने, धुलो लिएर उपत्यकामा भित्रने सवारीसाधनलाई रोक लगाउनुपर्ने आह्वान गरेका हुन् ।
उनीहरुले वायु प्रदूषण स्तरमा सुधार नहुञ्जेलसम्मका लागि उपत्यकाका विद्यालयहरू बन्द गर्नुपर्ने, फोहोरमैला तथा कृषिजन्य अवशेषहरू जलाउने कार्यमा तत्काल रोक लगाउनुपर्ने, स्वास्थ्य जोखिमबाट जोगिनका लागि मास्क लगाउन अनिवार्य गर्नुपर्नेलगायत सुझाव दिएका छन् ।