डोटी । मानवीय सेवामा अनेकौँ प्रयास (साइन नेपाल) धनगढीले डोटीको आदर्श गाउँपालिकाको एक स्वास्थ्य चौकीलाई ल्याब स्थापनाका लागि आवश्यक पर्ने उपकरण हस्तान्तरण गरेको छ ।
गाउँपालिकाको सहकार्यमा आइतबार एक कार्यक्रमका बिच आदर्श गाउँपालिका वडा नम्बर ६ मा रहेको गिरी चौका स्वास्थ्य चौकीलाई स्वास्थ्य प्रयोगशाला (ल्याब)स्थापनाका लागि आवश्यक पर्ने उपकरण हस्तान्तरण गरेको हो ।
सुदूरपश्चिमका धेरै स्थानीय तहहरूमा शिक्षा,स्वास्थ्य,कृषि र दैवी प्रकोपको क्षेत्रमा काम गर्दै आएको संस्थाले वास्तविक समस्यालाई स्थानीय तहसँग समन्वय गरेर समाधान गर्दै आइरहेको छ । ल्याब सेवाबाट वञ्चित भएका यहाँका नागरिकहरूलाई अब वडामै सो सेवा सुचारु हुने भएपछि सहज हुने गाँउपालिकाकी उपाध्यक्ष लक्ष्मी रोकायले बताइन् ।
वडा नम्बर ६ का वडाध्यक्ष लाल बहादुर खडायतले वडाका मानिसहरूले सामान्य चेकजाँचका लागि जिल्ला र जिल्ला भन्दा बाहिर जानुपर्ने ठुलो बाध्यता रहेको थियो र अब संस्थाले गरेको ल्याब सामाग्रीहरूबाट आफ्नै वडाको स्वास्थ्यमा आफ्नो स्वास्थ्य अवस्था चेकजाँच गर्ने सेवा दिएकोमा संस्थालाई धन्यवाद दिए ।
सो क्षेत्रका नागरिकको समस्यालाई मध्यनजर गर्दै र सो स्वास्थ्य चौकीको स्वास्थ्य क्षेत्रमा सुधार गर्नका लागि संस्थाले ल्याब उपकरण उपलब्ध गराएको साइन नेपाल कैलालीका अध्यक्ष भक्तराज जोशीले बताए । संस्थाले गरेको सहयोगलाई आफ्नै सम्झेर सही सदुपयोग पनि आग्रह गरे ।
अब वडामै ल्याब सेवा पाउने भएपछि स्थानीयवासी भने खुसी भएका छन् । सो स्वास्थ्य ल्याब उपकरण हस्तान्तरण कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष,वडा सदस्य,महिला स्वास्थ्य स्वयंसेविकाहरू,वडा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।