काठमाडौं । जनमत पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच एकतापछि हुने पद बाँडफाँडमा सहमति जुटेको छ ।आइतबार बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा बसेको एकता कार्यदलको बैठकले एकताको टुङ्गो लगाएको हो। बैठकमा एकतापछि नेताहरुको पद, पार्टीको नाम, चुनाव चिन्हमा सहमति जुटेको हो ।
एकतापछि पार्टीको संरक्षक रेशम चौधरी, कार्यकारी अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठलाई तेस्रो वरीयता दिने गरि सहमति जुटेको नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गा नारायण चौधरीले जानकारी दिए ।
यस्तै चुनाव चिन्ह भने जनमत पार्टीको ढोकिया राख्ने सहमति भएको छ। पार्टीको नाम नागरिक जनमत पार्टी राख्ने सहमति भएको चौधरीले जनाकारी दिए । जनमत–नागरिक उन्मुक्तिको एकता सहमति भएपनि १५ वैशाखमा घोषणा गरिने जनाएको छ ।
एकताका लागि मधुवनको अमरपुरमा पहिलो कार्यदलको बैठक बस्नुअघि जनमतका अध्यक्ष राउत र नाउपाका संरक्षक चौधरीबीच गुलरियामा छलफल भएको थियो ।
गत प्रतिनिधिसभा चुनावमा नागरिक उन्मुक्तिले प्रत्यक्षतर्फ ४ र जनमतले १ सिट जितेको थियो । जनमतले समानुपातिकतर्फ ५ सिट पाएको थियो । प्रदेशतर्फ सबैभन्दा बढी सुदूरपश्चिममा नागरिक उन्मुक्तिका ७ सांसद छन् । लुम्बिनीमा ४ र मधेशमा १ सांसद छन् । मधेशमा जनमतका १३ र लुम्बिनीमा ३ सांसद छन् । १०७ सदस्यीय मधेश प्रदेशसभामा १४ सांसदसहित एकीकरणपछि पनि चौथो दलका रूपमा रहनेछ । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा ५ औं र ६ औं स्थानमा रहेका नागरिक उन्मुक्ति र जनमत एक भए चौथो स्थानमा पुग्नेछ ।