काठमाडौँ । आज विश्व स्वास्थ्य दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ ।
दिवसको यो वर्षको नारा ‘स्वस्थ शुरुवात, समृद्ध भविष्य’ रहेको छ । दिवसको अवसरमा मातृ तथा नवजात शिशु स्वास्थ्यलाई केन्द्रित गर्दै आज वर्षव्यापी अभियानको शुभारम्भ गर्ने कार्यक्रम छ ।
स्वस्थ शुरुवात, समृद्ध भविष्य भन्ने मूल नारासहित यस अभियानले सरकार र स्वास्थ्य क्षेत्रमा कार्यरत सरोकारवालालाई मातृ तथा नवजात शिशु मृत्यु न्यूनीकरणका लागि प्रयासहरू तीव्र बनाउन र महिलाको दीर्घकालीन स्वास्थ्य तथा आरोग्यतालाई प्राथमिकता दिन आग्रह गर्छ ।
यस अवसरमा, विश्व स्वास्थ्य सङ्गठन तथा साझेदार संस्थाहरूले स्वस्थ गर्भावस्था, सुरक्षित प्रसूति तथा सुत्केरीपछिको स्वास्थ्य प्रवर्द्धन गर्न सन्देशमूलक जानकारीहरू प्रदान गर्नेछन् ।सन् १९४८ मा विश्व स्वास्थ्य सङ्गठनको स्थापना भएको पाँच वर्षपछि सन् १९५३ मा नेपाल सदस्य राष्ट्र बनेको थियो ।
जनस्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका सफलताहरूको स्मरण गर्नुको साथै वर्तमान र भविष्यका स्वास्थ्य चुनौतीहरूको सम्बोधन गर्न स्वास्थ्य प्रणालीलाई अझै सुदृढ बनाउने अवसरको रुपमा पनि यस दिवसलाई लिइएको छ ।