काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विशेष अधिवेशन बोलाएर भए पनि शिक्षा ऐन जारी गर्न माग गरेको छ । सोमबार एक विज्ञप्ति मार्फत सरकार शिक्षकहरूको मागप्रति उदासीन र गैर जिम्मेवार भएको पुष्टि भएको पनि दाबी गरेको छ।
प्रवक्ता अग्निप्रसाद सापकोटाले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्ने लगायत विभिन्न माग राखेर लामो समयदेखि नेपाल शिक्षक महासंघको नेतृत्वमा चलिरहेको आन्दोलनप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए।
विज्ञप्तिमा भनिएको छ, नेपाल शिक्षक महासंघसँग ५ बुँदे र ६ बुँदे सहमति भएको स्मरणीय छ । उक्त सहमति अनुरूप तर्जुमा भएको विधेयकलाई महत्त्व दिएर यथाशीघ्र पारित गर्नुपर्नेमा कांग्रेस र एमालेको गठबन्धन सरकारले हजारौँ शिक्षक र लाखौँ विद्यार्थीको पेशा तथा भविष्यमाथि खेलबाड गर्नु निन्दनीय छ ।
सरकार गठन भएको दश महिनासम्म आन्दोलनरत शिक्षकहरूको जायज मागलाई बेवास्ता गरिनु, तर यही बीचमा देशलाई गम्भीर असर पर्ने प्रकृतिका ऐनहरू भने निसंकोच अध्यादेशमार्फत जारी गर्न सक्ने सरकारले अहिले शिक्षकहरूको आन्दोलन चर्किएपछि बजेट अधिवेशनमा विधेयक पारित गर्ने तर्क दिनु हास्यास्पद भएको माओवादीको ठहर छ।
