काठमाडौँ । चैत १५ गते कोटेश्वरस्थित जडिबुटी उद्योगमा आगो लगाउने ‘मुख्य व्यक्ति’लाई प्रहरीले पक्राउ गरेको छ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सीसीटीभी र भिडिओका आधारमा पहिचान गर्दै उनलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसेका २७ वर्षीय कुमार तामाङ रहेका छन्। उनले जडिबुटी चोकको ट्राफिक लाइट पनि फुटाएको प्रहरीको आरोप छ। उनैले जडिबुटी उद्योगमा पनि आगो लगाएको भिडिओमा देखिएको छ। यस्तै उनले तीनकुनेको ट्राफिक लाइट समेत फुटाएका थिए ।
यस अघि जडीबुटी उत्पादन कम्पनीमा आगो लगाउने तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४ बस्ने दिनेश खड्का छन् । उनलाई प्रहरीले चैत १८ गते काठमाडौंबाटै पक्राउ गरेको हो ।
त्यसैगरी उक्त कम्पनीमा आगो झोस्नेमध्ये अर्का युवक ताप्लेजुङको फुङलिङ नगरपालिका-३ बस्ने सुशील बराल छन् । उनलाई चैत १९ गते समातिएको हो ।जडीबुटी कम्पनीमा आगो लगाउने अर्का युवकमा रामेछापको गोकुलगंगा गाउँपालिका-२ निवासी केशव बस्नेत रहेका छन् ।