धनगढी । कैलालीको अत्तरियास्थित दुर्गा मन्दिरमा एक पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको मन्दिर परिसरमा बुधवार बिहान शव भेटिएको हो । तर इलाका प्रहरी कार्यालय भने बेखर जस्तै बनेको पार्ईको छ ।
अन्दाजी ३५–४० वर्षको देखिने ती पुरुषको टाउकोमा ढुंगा प्रहार गरी हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । टाउकोको बायाँ भाग फुटेको, आँखा नदेखिने र अनुहार चिन्न नसकिने अवस्थामा रहेको बताइएको छ । शव नजिकै रगत लागेको ढुंगा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए ।
उनका अनुसार घटना मन्दिरभित्रै भएको र शव मन्दिरबाट करिब २० मिटर तल घिसारिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जानकारी दिए। मृतकको परिचय खुल्न सकेको छैन ।
सडक पारीपट्टि रहेको मन्दिरमा यती ठुलो घटना हुँदा पनि प्रहरी अनविज्ञ भएको भन्दै स्थानीयले आक्रोश पोखेका छ । स्थानीयले प्रहरी कार्यालय अगाडिको मन्दिरमा बीभत्स हत्या हुँदा पनि प्रहरीले थाहा नपाउनु प्रहरीको गम्भीर लापरबाही भएको बताएका छन् ।