काठमाडौँ । सामुदायिक विद्यालयका शिक्षकहरूले शैक्षिक सुधारसम्बन्धी मागहरू राख्दै आन्दोलनको आठौं दिनमा राजधानीको माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रमा प्रदर्शन गरेका छन् ।
शिक्षकहरूले ‘विद्यालय शिक्षा ऐन शीघ्र पारित गर’, ‘सहमति कार्यान्वयन गर’ भन्ने नारासहित हात उठाएर विरोध जनाएका छन् । माइतीघर मण्डलाबाट शुरू भएको जुलुस बानेश्वरसम्म पुगेपछि विरोध प्रदर्शनमा परिणत भएको हो ।
नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनका कारण देशभरका विद्यालयको पठनपाठन प्रभावित भएको छ। सरकारले हालसम्म वार्ताको पहल नगरेको भन्दै आन्दोलनरत शिक्षकहरूले आक्रोश व्यक्त गरेका छन् । शिक्षकहरूको माग छिटो सम्बोधन गर्न राजनीतिक दलहरू र संघसंस्थाहरूले पनि सरकारलाई ध्यानाकर्षण गराएका छन् ।