काठमाडौं। डा. जगमान गुरुङ नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बुधबार काठमाडौं स्मार्ट दरबार, शङ्खपार्कमा गरेको प्रतिबद्धता सभामा नेपाली कांग्रेस छाडेका कर्ण मल्ल र नेकपा एमाले छाडेकी गंगा चौधरी पनि मिसिएका छन् ।
यसअघि भएका राजावादी आन्दोलनमा नदेखिएका यी दुई पात्रलाई राजावादीहरूले मञ्चमै स्थान दिएका छन् ।गुरूङ नेतृत्वको आन्दोलन समितिले आयोजना गरेको उक्त कार्यक्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा पनि देखिए । मंगलबार राप्रपाले बल्खुमा आयोजना गरेको सभामा सहभागी नभएका थापा जगमान नेतृत्वको बैठकमा भने देखिए । उता राप्रपाका वरिष्ठ नेता पनि मल्ल र चौधरीसँगै मञ्चमा देखिए ।
त्यहाँ गुरुङ कार्यवाहक संयोजक रहेको ‘संयुक्त जनआन्दोलन’ सभाले राजा र हिन्दु राज्य फर्काउने आन्दोलनलाई अघि बढाउने प्रतिबद्धता सभा आयोजना गरेको हो ।
कुनै बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका प्रिय पात्र कर्ण मल्ल पनि अब राजावादी कित्तामा देखिएका छन् ।डडेलधुरा जिल्ला सभापतिसमेत भएका मल्ल देउवासँगकै द्वन्द्वका कारण कांग्रेसबाट निकालिएका थिए । कांग्रेसबाटै प्रदेश सभा सदस्यसमेत भएका मल्लले पछि नेपाली कांग्रेस बिपीमा यात्रा थालेका थिए ।
तर उक्त पार्टीका अधिकांश पदाधिकारीलाई कांग्रेसले आफूमा विलय गराएपछि एक्लिएका उनी अब राजावादी बनेका हुन् । मल्लले केही दिनअघि आफूलाई राजावादी लाइनमा खुलाएका थिए ।
उता कुनै बेला एमालेकी समानुपातिक सांसद हुँदा प्रतिनिधिसभामा सबैभन्दा चर्को स्वरले कराउने दाङकी गंगा चौधरी पनि अब राजावादी कित्तामा पुगेकी छन् ।
उनलाई पनि जगमान नेतृत्वको समितिले मञ्चमै स्थान दिएको हो । निवर्तमान सांसद तथा एमाले केन्द्रीय सदस्य गंगा चौधरीले आफ्नो पार्टी नेतृत्वमाथि गम्भीर आरोप लगाएकी छन् । एमालेले २०७९ को चुनावमा टिकट नदिएपछि विरक्तिएकी उनले स्वतन्त्रतर्फ उम्मेदवारी दिएकी थिइन् ।
एमाले उम्मेदवार शान्ता चौधरीविरुद्ध उठेकी उनले चुनाव जितिनन् । त्यहाँ एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी भए ।एमाले नेतृत्वले विदेशी दबावमा परेर आफूलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ टिकट नदिएको आरोप लगाएकी उनी पनि अब राजा ल्याउने अभियानमा जोडिएकी हुन् ।