धनगढी । सुदूरपश्चिमको बझाङ र डोटीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने सात जना घाईते भएका छन् । बुधबार साँझ वित्थडचिर गाउँपालिका–३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।
उता डोटीमा पनि बुधबार राति जिल्लाको सायल गाउँपालिका-६ दल्लेखस्थित लहरी नागरीको घरमा चट्याङ परेको थियो ।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार नागरीकी ३३ वर्षीया श्रीमती कमला नागरीको मृत्यु भएको हो ।
यस्तै लहरी नागरीकी १० वर्षकी छोरी तारा नागरी, ८ वर्षका छोरा अविशेक नागरी, ६ वर्षीय अबि नागरी, ३ महिनाका शंकर नागरी, ४० वर्षीया महिला तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय बालक खुशी नागरी घाइते भएका छन् ।