काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य टीका सङ्ग्रौला (ज्वाला)विरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । काठमाडौँ खुला विश्वविद्यालयमा एलएलबि प्रथम वर्षका विद्यार्थी प्रान्ज्वल केसीले बुधबार सर्वोच्च अदालतमा उक्त मुद्दा दायर गरेका हुन् ।
गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको निर्णय उल्टाउँदै रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएपछि भएको हो । आदेशको केही समयपछि सङ्ग्रौलाले आफ्नो फेसबुकमा न्यायाधीश र अदालतको अपमान गर्ने अभिव्यक्तिहरू दिइन् ।
सङ्ग्रौलाले लेखेकी थिइन्, ‘न्यायाधीश नै पार्टीका झोले कार्यकर्ता भएपछि यस्तै हुन्छ। दिउँसो घाम लागेको बेलामा पनि यो त रात हो भनेर फैसला गर्छन्, हामीले मान्नुपर्छ ।’ त्यसपछि, उनले सामाजिक सञ्जालमा अदालतको अवहेलना हुनेगरी बारम्बार अभिव्यक्तिहरू र भिडियोहरू पोस्ट गरिरहेकी थिइन् ।
अदालत कसैप्रति भयभीत र पूर्वाग्रही नहुने भन्दै केसीले सङ्ग्रौलालाई तत्काल पक्राउ गरी न्याय प्रशासन ऐन २०७३ को दफा १७ ९४० बमोजिम १ वर्ष कैद र १० हजार रुपैयाँ सजायको माग गरेका छन् ।