काठमाडौँ । नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले आफैँले लाखौँका टिकट किनेर फिल्म चलाएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले सो कुरा बताएका हुन् । उनले लेखेका छन्,‘इन्द्रेको बाउ चन्द्रेले फिल्म बनाए पनि २०/२५ लाखको त टिकट किन्नैपर्छ। १०/१२ लाखको त हामीले पनि किनेकै हो। अब टिकट काट्नु पनि मार्केटिङ प्लान हो’,
पछिल्लो समय नेपाली सिने क्षेत्रमा निर्माता आफैँले लाखौँका टिकट किनेर फिल्म हाउसफुल देखाउने प्रवृत्ति देखिँदै आएका बेला पौडेलले सो विषयमा खुलेरै बताएका हुन् ।
यस वर्ष सर्वाधिक कमाएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ हो । चलचित्र विकास बोर्डका अनुसार यस फिल्मले ४६ करोड ८० लाख ग्रस कलेक्सन गर्दै नयाँ रेकर्ड बनाएको हो ।