काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मन्त्रालयले आर्थिक कूटनीतिको प्रवर्धन गर्न अलग्गै महाशाखामार्फत काम सुरु गरेको बताएकी छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारणसभाका अवसरमा आज महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा लगानीका अधिक सम्भावनाहरू रहेकाले वैदेशिक लगानी भित्र्याउन सरकारले आर्थिक कूटनीतिलाई बलियो बनाएर अघि बढ्ने स्पष्ट गरिन् ।
विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेकाले बढी भन्दा बढी वैदेशिक लगानी भित्र्याउन सरकार र निजी क्षेत्र मिलेर लगानीको उचित वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिइन् ।
नेपालमा ऊर्जा, पर्यटन, पर्यटकीय पूर्वाधार निर्माण, सूचना प्रविधि आदि क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेकाले आर्थिक कूटनीतिका माध्यमबाट वैदेशिक लगानी आकर्षित गर्ने काममा आफू कार्यरत रहेको र त्यसमा निजी क्षेत्रको पनि सक्रिय साथ र सहयोग आवश्यक रहेको उनले बताइन् ।