काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले आयोजना गरेको ‘एडुक्लेभ ३.०’काठमाडौंमा सम्पन्न भएको छ । वैदेशिक अध्ययनका लागि नेपालमा व्यवस्था भएको नीतिगत विषयमा छलफल लागि आयोजना गरिएको ‘एडुक्लेभ ३.०’कार्यक्रम नेपाल सरकारका उद्योगमन्त्री दामोदर भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
उद्योगमन्त्री भण्डारीले शैक्षिक परामर्श सेवादिने कम्पनी तथा संस्थालाई साना व्यवसाय तथा ‘स्टार्टअप’उद्यमका रूपमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । उनले शैक्षिक परामर्श सेवा प्रदायकले समेत नवीनतम सोच प्रयोग गरी व्यवसाय सञ्चालन गरेकाले स्टार्टअप उद्यम हुन सक्ने बताए । मन्त्री भण्डारीले शिक्षा क्षेत्रलाई राज्यले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै नेपाल सरकारले शिक्षा क्षेत्रको विकासका लागि ठूलो लगानी गरिरहेको बताए । शैक्षिक परामर्श प्रदानगर्ने क्षेत्रलाई पारदर्शी बनाई सहज र सुलभ सेवा प्रवाह गर्नका लागि आवश्यक पूर्वाधार विकासमा थप काम गर्नुपर्नेमा मन्त्री भण्डारीले जोड दिए ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली विद्यार्थीहरु वैदेशिक अध्ययनमा जानुलाई नकारात्मक रुपमालिन आवश्यक नरहेको बताए । उनले वैदेशिक अध्ययनमा विद्यार्थी जानु मानविय स्वभाव रहेको र यसलाई नकारात्मक रुपमा लिन आवश्यक नरहेको बताएका हुन् । शिक्षालाई रोजगारीसँग जोड्न नसक्दा यो अवस्था सिर्जना भएको उनको ठहर छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक तथा सांसद सन्तोष परियारले नेपालको शिक्षामा आम जनमानसले चाहे अनुसार विकास हुन नसकेको बताएका छन् ।उनले शिक्षा नीतिमा कुनै समस्या नभएको तर, चाहे जतिको काम गर्ने वातावरण निर्माण हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।यदि देशको शिक्षा सुधार गर्ने हो भने शिक्षा क्षेत्रलाई राजनीतिक दलीयकरणबाट टाढा राख्नुपर्ने र यसका लागि सरकारले अभिभावकत्व निर्वाह गर्नुपर्नेमा सांसद परियारले जोड दिए ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले नेपाललाई शैक्षिक हबको रुपमा विकास गर्न सकिने बताएका छन् । सांसद वाग्लेले नेपाललाई शैक्षिक हबको रुपमाविकास गर्न सरकारले विद्यार्थी भिसाको पोलिसीबनाउनआवश्यक रहेको बताएका हुन् । उनले शिक्षाको सम्भावना र चुनौती बढ्दै जाँदा राज्य शिक्षाको विषयमा थप जवाफदेही हुन आवश्यक रहेको बताए ।
नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले नेपाललाई शैक्षिक हब बनाउन राज्य तयार हुनुपर्नेमा जोड दिएका छन् ।बरालले इक्यानले विगत १९ वर्षदेखि नेपाललाई शैक्षिक हब बनाउनुपर्ने आवाज उठाउँदै आएको तर सरकारले अहिलेसम्म ठोस नीति निर्माण गर्न नसकेकोमा दुःखव्यक्त गरे । वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूको आधिकारिक तथ्याङ्क सरकारसँग नै नभएको उल्लेख गर्दै बरालले राज्यको कुन निकायसँग यथार्थ तथ्याङ्क छ भनी पनि प्रश्न गरे।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले वार्षिक रुपमा करिब ३ लाख नेपाली विद्यार्थी अध्ययनकालागि विदेशिने गरेको बताएका छन् । उनले हाल ५ लाख भन्दाबढी विद्यार्थी कक्षा १२ पश्चात वैदेशिक अध्ययनमा रहेको जानकारी दिए । प्रवक्ता सापकोटाले एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) लिएर विदेश पढ्न जाने विद्यार्थीको संख्याबढ्दो क्रममा रहेको बताएका हुन् ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. रामु पौडेलले वैदेशिक अध्ययनमा अर्वौं रकम बाहिरिँदा देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको छ भन्ने मान्यता गलत भएको बताए ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले अहिलेको युवा पुस्ता (जेन्जी जेनेरेसन) करियरका धेरै विकल्पका कारण कुन विषय पढ्ने भन्ने अन्योलमा परेको बताएका छन्। ज्ञवालीले विगतको पुस्तामा जस्तो डाक्टर वा इन्जिनियर बन्ने निश्चित लक्ष्य लिएर अध्ययन गर्ने प्रचलन अहिलेका विद्यार्थीमा नदेखिएको र यसले गर्दा अन्योलता थपिएको बताएका हुन् ।
युवा नेता तथा नेपालको सार्वजनिक शिक्षा सुधारमा निरन्तर कलम चलाउँदै आएका मिलन पाण्डेले उच्च शिक्षा र रोजगारीको खोजीमा विदेशिने युवाहरुको बढ्दो संख्याप्रति चिन्ता व्यक्त गरेका छन्। पाण्डेले देशमै केही गर्ने अठोट लिएर स्वदेश फर्केका युवाहरुलाई समेत राज्यले उचित व्यवस्थापन गर्न नसकेको बताएका हुन् । उनले अहिलेको युवा पुस्ता अध्ययनका अनेक विकल्प हुँदाहुँदै पनि सामाजिक सञ्जाल र क्षणिक मनोरञ्जनमा रुमल्लिएको टिप्पणी गरे ।
इक्यानका प्रथम उपाध्यक्ष एन्ड्रियु पौडेलले शैक्षिक परामर्श क्षेत्रको शिक्षा भनेको केवल कक्षाकोठामा पढाइ मात्र नभई नयाँ संसारमा प्रवेश गर्ने ढोका भएको दाबी गरेका छन् । शैक्षिक परामर्श क्षेत्रको यो पहलले परिवार, समाज मात्र नभई सिंगो राष्ट्रको भविष्यमा पनि सकारात्मक परिवर्तन ल्याउने पनि उनकोे भनाई छ ।
त्यस्तै, इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले बेलायत उच्च शिक्षाका लागि उत्कृष्ट गन्तव्य भएको बताए । शैक्षिक परामर्श संघहरु विद्यार्थीलाई वैदेशिक अध्ययनमा पठाउने मात्र होइन, विदेशी विद्यार्थीलाई अध्ययनका लागि नेपाल ल्याउने भूमिका पनि निर्वाह गर्नसक्छ, त्यसको लागि राज्यले वातावरण निर्माण गरिदिनुपर्नेमा उनले जोड दिए ।
इक्यानका अध्यक्ष शेषराज भट्टराईले विदेश अध्ययनमा गएका विद्यार्थीहरुलाई स्वदेश फर्काउन सरकारसँग स्पष्ट नीति नभएकोमा चिन्ता व्यक्त गरेका छन्। भट्टराईले विदेश गएका विद्यार्थीहरु देशकालागि ‘सफ्ट पावर’ भएको उल्लेख गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई देश विकासमा प्रयोग गर्न सरकारले ठोस योजना ल्याउनुपर्ने बताएका हुन् । पछिल्लो समय शिक्षा मन्त्रालयले एजुकेशन कन्सल्टेन्सीहरुलाई व्यवस्थित गर्ने कार्य अगाडि बढाएकोमा खुसी व्यक्त गरे। उनले वर्तमान शिक्षा मन्त्री विद्या भट्टराई र पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षा सुधारका लागि चालेका कदमहरुको प्रशंसा गर्दै मन्त्रालयले परामर्शदाताहरुसँग नियमित छलफल गरिरहेको पनि बताए । सो कार्यक्रममा नेपाल प्रहरी प्रमुख आईजीपी दीपक थापा लगायत विभिन्न शैक्षिक परामर्श क्षेत्रका पदाधिकारीहरूको सहभागिता रहेको छ ।