बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शिक्षा ऐन जारी गर्ने बताएका छन् । एमाले लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा आयोजना गरेको जागरण सभामा प्रधानमन्त्री ओलीले आन्दोलनरत शिक्षकलाई सम्बोधन गर्दै सरकारले समस्या समाधान गर्ने बताएका हुन् ।
‘शिक्षक साथीहरू आन्दोलनमा हुनुहुन्छ,तपाईंहरूका पनि अप्ठ्यारा छन्,समस्या छन्, तिनै अप्ठ्यारा र समस्या समाधान गर्न यो सरकार बनेको हो,’ उनले भने, ‘लामो समयदेखि ऐन रोकिएर बसेको छ, हामी त्यसलाई ल्याउँछौं भनेकै छौं, भावनामा बगेर समस्या समाधान हुँदैन, हामीले उपयुक्त समयमा राष्ट्रको हित हुने गरी ऐन कानुन ल्याउँछौं र व्यवस्थित ढंगले सबै समस्याको समाधान गर्छौं,’ प्रधानमन्त्री ओलीले भने । शिक्षकहरू २० चैतदेखि सडक आन्दोलनमा छन् ।